
काठमाडौँ । ललितपुरमा ड्युटीमा खटिएका प्रहरीमाथि दुई छुट्टाछुट्टै स्थानमा साङ्घातिक आक्रमण भएका छन्। घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि बुधबार राति एक समूहले अचानक ढुङ्गामुढा गरेको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर गरेको थियो।
ढुङ्गा प्रहारबाट एक जना प्रहरी घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। पक्राउ परेकामाथि सार्वजनिक शान्ति खलल तथा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
यसैबीच, ललितपुर महानगरपालिका-३ झम्सीखेल क्षेत्रमा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गरिरहेका युवाहरूलाई सम्झाउन पुगेको प्रहरी टोलीमाथि शनिबार राति कुटपिट भएको छ।
प्रहरीका अनुसार सम्झाउने क्रममा युवाहरूको समूह आक्रामक बन्दै लात, मुक्का तथा लाठी प्रयोग गरी प्रहरीमाथि जाइलागेको थियो। कुटपिटबाट एक प्रहरी घाइते भएका छन्। उनको उपचार जावलाखेलस्थित अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न आठ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूविरुद्ध अभद्र व्यवहार तथा सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। शान्ति-सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि आक्रमण हुनु गम्भीर विषय भएको उल्लेख गर्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।