
रौतहट। भोलि हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहटमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। जिल्लामा तैनाथ नेपाली सेनाअन्तर्गत नारायणदल गणले निर्वाचन लक्षित विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।
निर्वाचन अवधिभर शान्ति-सुरक्षा कायम राख्न सेनाले हवाई गस्तीसमेत सुरु गरेको छ। साथै, माइन प्रोटेक्टेड भेहिकल (एमपीभी), अन्य सवारी साधन, मोटरसाइकल तथा पैदल टोलीमार्फत विभिन्न मतदान केन्द्रहरूमा निगरानी र गस्तीलाई तीव्र बनाइएको बताइएको छ।
निर्वाचनलाई भयरहित र व्यवस्थित ढंगले सम्पन्न गराउने लक्ष्यका साथ जिल्लाका संवेदनशील क्षेत्रहरूमा बख्तरबन्दसहित सुरक्षा परिचालन गरिएको छ।
त्यसैगरी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार संयुक्त रूपमा गस्ती र निगरानी कार्य गरिरहेका छन्।
सुरक्षा निकायहरूले सबै मतदातालाई ढुक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।