
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। आयोगले बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभरका सबै मतदान केन्द्रमा मतदान सञ्चालन हुने जनाएको छ।
आयोगका अनुसार तोकिएको समयमा मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउनेछन्। निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक सबै तयारी पूरा भइसकेको आयोगले जनाएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियामा सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गरे। स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मतदान हुने र निर्वाध रूपमा मतदान गर्न पाउने सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।
साथै, मतदातालाई मान्य परिचयपत्रसहित समयमा मतदान केन्द्रमा उपस्थित हुन र अफवाहमा नलागी आधिकारिक जानकारीका लागि आयोगको सूचनामार्फतै जानकारी लिन सुझाव दिइएको छ।