काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक संस्कारका आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । एक सार्वजनिक कार्यक्रममा गृहमन्त्री अर्यालले हतार र प्रभावमा परेर नभई विवेकपूर्ण ढंगले भोट हाल्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘हुइममा दिने होइन भोट। राजनीतिक संस्कार भएकालाई भोट दिनु होला ।’
उनका अनुसार राजनीतिक संस्कार नभएका व्यक्ति संसद वा सरकारमा पुगेमा मुलुकले नराम्रो परिणाम भोग्नुपर्ने अवस्था आउन सक्छ। ‘राजनीतिक संस्कार नभएको व्यक्तिहरू संसद वा सरकारमा गए भने मुलुकलाई राम्रोभन्दा नराम्रो बढी हुन सक्छ। प्रणाली भत्किन पनि सक्छ,’उनले चेतावनी दिए ।
गृहमन्त्री अर्यालले राजनीतिक संस्कारलाई लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा ठूलो आधारका रूपमा व्याख्या गरेका छन् । उनले मतदातालाई उम्मेदवारको आचरण, व्यवहार, सार्वजनिक जीवनको इतिहास र लोकतान्त्रिक मूल्यमान्यताप्रतिको प्रतिबद्धता हेरेर मात्र मतदान गर्न आग्रह गरे ।
‘राजनीतिक संस्कार सबैभन्दा ठुलो हो। राजनीतिक संस्कारका लागि भोट हाल्नु होला। त्यो माग गरेर भोट हाल्नु होला,’ उनले जोड दिए । जसलाई भोट हाले पनि पहिले राजनीतिक संस्कार पहिचान गर्नुपर्ने उनको भनाइ थियो।
गृहमन्त्री अर्यालले राजनीतिक संस्कार वृद्धि हुने गरी विवेक प्रयोग गरेर मतदान गर्न सबैमा आह्वान गरे ।