काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा रौतहट क्षेत्र नम्बर ४ मा प्रगतिशील लोकतान्त्रिक पार्टी र आम जनता पार्टी बीच चुनावी एकता भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सत्यनारायण भगतले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै आम जनता पार्टीका उम्मेदवार ऋषि धमला लाई समर्थन गर्ने घोषणा गरेका हुन्।
दुवै पार्टीबीच बिहीबार सम्पन्न राजनीतिक छलफलपछि उक्त सहमति भएको जनाइएको छ। सहमतिपछि जारी संयुक्त विज्ञप्तिमा भगतले निष्क्रिय रही धमलालाई निस्वार्थ रूपमा सहयोग गर्दै विजयी गराउने निर्णय सर्वसम्मत रूपमा भएको उल्लेख छ।
सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार स्वयं सत्यनारायण भगत र आम जनता पार्टीका तर्फबाट नारायण तिवारीले हस्ताक्षर गरेका छन्।
