
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन्। बिहीबार बिहान उनले चितवनको भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
यस पटक प्रचण्ड प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्व जिल्ला बाट उम्मेदवार बनेका छन्। तर उनको मतदाता नामावली भने चितवनमा रहेको कारण उनले चितवनबाटै मतदान गरेका हुन्।
मतदान गरेलगत्तै प्रचण्ड आजै हेलिकप्टरमार्फत आफ्नो उम्मेदवारी रहेको निर्वाचन क्षेत्र रुकुम पूर्व जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। त्यहाँ पुगेर उनले निर्वाचनको अवस्था बुझ्नुका साथै पार्टीका नेता-कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।
देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।