मतदानको दिन काठमाडौँका सडक खाली, सुरक्षा ब्यवस्था कडा (फोटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौँ । आज फागुन २१ गते, प्रतिनिधिसभा सदस्यका लागि देशैभरि एकैसाथ मतदान हुँदैछ । मतदानको दिन काठमाडौँ उपत्यकाका मुख्य सडकहरू असाधारण रूपमा सुनसान देखिएका छन्। सर्वसाधारणका सवारी साधन सडकमा नदेखिँदा राजधानीका व्यस्त मार्गहरू खालीजस्तै बनेका छन्।

सडकमा फाट्टफुट्ट रूपमा नेपाली सेनाका गाडी, ट्याङ्कर र एम्बुलेन्स मात्र सञ्चालनमा देखिएका छन्। अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन नचल्दा उपत्यकाको यातायात लगभग ठप्प भएको अवस्था देखिएको हो।

संवेदनशील क्षेत्र मानिने सिंहदरबार वरपर सुनसान देखिएको छ। सरकारी कार्यालयहरू आसपासको क्षेत्र सुनसान बनेको छ भने सुरक्षाका लागि नेपाली सेनाले गस्ती गरिरहेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेको जनाइएको छ।