झापा-५ का नेकपा उम्मेदवार रन्जित तामाङले गरे मतदान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का झापा क्षेत्र नम्बर-५ का उम्मेदवार रन्जित तामाङले कमल गाउँपालिका-१ स्थित बाँसबारी मतदान केन्द्रबाट मतदान गरेका छन्। आज बिहान कमल गाउँपालिका-१ अन्तर्गत बाँसबारीस्थित मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रलाई बलियो बनाउन नागरिकले उत्साहका साथ मतदान गर्नुपर्ने बताए।

उनले निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको भन्दै मतदातालाई ढुक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मत प्रयोग गर्न आग्रह गरे। ‘मतदान लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण अधिकार हो, त्यसैले सबै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुपर्छ,’ उनले भने।

झापा-५ मा नेकपाबाट उम्मेदवार बनेका तामाङ विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष समेत हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र साह रहेका छन् ।

यस क्षेत्रमा प्रमुख राजनीतिक प्रतिस्पर्धा विभिन्न दलका उम्मेदवारबीच भइरहेको छ र मतदानका लागि मतदाताको उल्लेख्य उपस्थिति देखिएको स्थानीय प्रशासनले जनाएको छ।

सिफारिस