काठमाडौँ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित सहिद स्मृति आधारभूत विद्यालयमा राखिएको मतदान केन्द्रमा हालसम्म एक जना पनि मतदाता मतदान गर्न आएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्तीका अनुसार स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका कारण केन्द्र पूर्ण रूपमा सुनसान बनेको हो।
स्थानीयले प्रादेशिक अस्पताल निर्माणको माग पूरा नभएको विरोधमा मतदान नगरेको बताएका छन्।
मानेभञ्ज्याङ-७ मा करिब आठ वर्षअघि नै प्रादेशिक अस्पताल निर्माण गर्ने योजना बनेको थियो। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई आवश्यक प्रक्रिया अघि बढे पनि अस्पताल निर्माण कार्य सुरु नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै निर्वाचन बहिष्कार गरेका हुन्।
वडा नम्बर ७ का वडाअध्यक्ष विष्णु प्रसाद गौतम ले अस्पताल निर्माणका लागि १६६ रोपनी जग्गासमेत उपलब्ध गराइसकिएको भए पनि काम अघि नबढेकाले स्थानीयवासीले मतदानमा सहभागी नहुने निर्णय गरेको बताए।
उक्त केन्द्रमा कुल ७०१ जना मतदाता सूचीकृत रहेका छन्।