
काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका-४ स्थित मालु मतदान केन्द्रबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेपछि मतादान स्थगित भएको हो ।
सो क्रममा मतदानस्थलमा विवाद र नाराबाजीसमेत भएको थियो। स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएपछि सुरक्षाकर्मीले चेतावनीस्वरूप हवाई फायरसमेत गरेका थिए।
घटनापछि त्यहाँको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । सम्बन्धित पक्षबीच छलफल गरी पुनः मतदान सुचारु गराउने प्रयास भइरहेको जनाइएको छ।
यसअघि पनि दोलखामा निर्वाचनका समयमा झडप तथा मतदाता त्रसित हुने घटनाहरू हुने गरेको भन्दै स्थानीयवासीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गर्दै आएका छन्।