उनले नेपालले सबै राष्ट्रले संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धिहरु र मानवीय कानुनको उचित सम्मान र पालना गर्नुपर्ने कुरामा जोड दिइएको बताइन् ।
कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने बताइन् ।
उनले दुई मुलुकबिचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरिन् ।
टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको परिस्थितिप्रति ऐक्यबद्धता व्यक्त गर्दै कतारको सार्वभौम भूमिमा खासगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरिन् । साथै उनले कतारले रचनात्मक भूमिकासहित वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरिन्।
कतारका प्रधानमन्त्री अल–थानीले नेपाल र कतारबिचको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको उच्च प्रशंसा गरिन् । उनले कतारमा रहेका नेपाली नागरिकहरूले ठुलो योगदान गरेको चर्चा गर्दै उनीहरूलाई सरकारले वर्तमान परिस्थितिमा कतारी नागरिकसरह सुरक्षा र संरक्षण दिने बताए ।
उनले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नो मुलुकले सार्वभौमिकता र भूमिको सुरक्षाका लागि वा आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको जानकारी दिए ।कतार सधैँ शान्तिको च्याम्पियन रहेकोले यस किसिमका क्रियाकलापको विरोधी रहेको बताए । यस कठिन घडीमा नेपालले प्रदर्शन गरेको मित्रता र ऐक्यबद्धताको लागि उनले धन्यवाद पनि दिए ।
यो परिस्थिति चाँडै अन्त्य हुने अपेक्षा गर्दै उनले पूर्ववत् रूपमा दुई मुलुकबिचको सम्बन्धलाई थप सुदृढ र विस्तारित बनाउन लाग्नुपर्नेमा जोड पनि दिए ।