गुल्मीमा महिला मतदाताको सहभागिता बढी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गुल्मी जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत महिला मतदाताको सहभागिता पुरुषभन्दा बढी देखिएको छ। आज भइरहेको मतदानमा पुरुषको तुलनामा महिलाको उपस्थिति बढी देखिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म ४८ हजार ६४३ महिला र ४१ हजार ३८७ पुरुषले मतदान गरेका छन्। गुल्मी जिल्लामा कुल २ लाख २९ हजार ५४९ मतदाता रहेका छन्। तीमध्ये १ लाख १५ हजार २१० महिला, १ लाख १४ हजार ३३७ पुरुष तथा अन्य २ जना मतदाता छन्।

जिल्लाभर १४५ मतदान स्थल र २८४ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। जिल्ला कारागारमा पनि अस्थायी मतदान केन्द्र सञ्चालन गरिएको छ। क्षेत्रगत विवरणअनुसार क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ मतदाता रहेका छन्। यहाँ ८३ मतदान स्थल र १५५ मतदान केन्द्र छन् भने २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३६३ मतदाता रहेका छन्। यस क्षेत्रमा ६२ मतदान स्थल र १२९ मतदान केन्द्र रहेका छन् भने २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

जिल्लामा निर्वाचन प्रक्रिया हालसम्म सामान्य र शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ। क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत न्यायाधीश कृष्णप्रसाद पौडेल र क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत जिल्ला न्यायाधिवक्ता हरिहर पौडेल रहेका छन्।