
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिप्रसाद भुसाल अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी पिताम्वर भुसाल ले २२ हजार ६४९ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा नेपाली कांग्रेस का उम्मेदवार विष्णुप्रसाद खनाल रहेका छन्, उनले १८ हजार ९८३ मत प्राप्त गरेका छन्।
यो परिणामसँगै अर्घाखाँचीमा रास्वपाले महत्वपूर्ण सफलता हासिल गरेको छ। पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउँदै आएको रास्वपाले विभिन्न जिल्लामा उल्लेख्य मत प्राप्त गर्दै आफ्नो प्रभाव विस्तार गरिरहेको छ।
निर्वाचित भुसाल अर्घाखाँचीमा रास्वपाका जिल्ला अध्यक्षसमेत हुन्। उनी यसअघि पनि विभिन्न राजनीतिक अभियान र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका थिए।
अर्घाखाँचीको यो परिणामलाई स्थानीय स्तरमा परम्परागत दलहरूबीचको प्रतिस्पर्धामा नयाँ शक्तिको उदयका रूपमा हेरिएको छ।
