रुपन्देही-२ : एमालेका विष्णु पौडेल पराजित, रास्वपाका सुलभ खरेल भारी मतान्तरसहित विजयी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेल भारी मतान्तरसहित विजयी भएका छन्। उनले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई फराकिलो अन्तरले पराजित गरेका हुन्।

निर्वाचन आयोगका अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत मात्रै प्राप्त गरे। यसरी खरेलले पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेल तेस्रो स्थानमा रहे। उनले ९ हजार ३९२ मत प्राप्त गरेका थिए।

रुपन्देही-२ लामो समयदेखि एमालेका प्रभावशाली नेता विष्णु पौडेलको ‘किल्ला’ मानिँदै आएको क्षेत्र हो। २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका पौडेल यसपटक भने रास्वपाका युवा उम्मेदवार खरेलसँग ठूलो मतान्तरले पराजित भएका छन्।

मतगणनाको सुरुवातदेखि नै खरेलले अग्रता लिएका थिए र गणना अगाडि बढ्दै जाँदा मतान्तर झन् फराकिलो हुँदै गएको थियो। अन्तिम परिणाममा त्यो अग्रता ठूलो अन्तरमा परिणत भएको हो।

निर्वाचन परिणामपछि पौडेलले पार्टीले भोगेको हारको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। यस निर्वाचनमा रुपन्देही-२ मा कुल करिब १ लाख ३५ हजार मतदाता रहेका थिए, जसमध्ये ८६ हजारभन्दा बढी मत खसेको थियो।

सिफारिस