जाजरकोटमा कांग्रेसका खड्गबहादुर बुढा विजयी, पूर्व गृहमन्त्री शक्ति बस्नेत पराजित

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको नतिजा सार्वजनिक भएपछि जाजरकोट निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर बुढा विजयी भएका छन्।

उनले नेपाली कम्युनिस्ट पार्टीका पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मतान्तरले पराजित गरेका छन्। निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार, बुढाले कुल २० हजार १४२ मत प्राप्त गरे भने बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन्।

यसैगरी, अन्य दलका उम्मेदवारमध्ये (नेकपा (एमाले)का डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राघव कार्कीले २ हजार ४७१ मत पाएका छन्।

पूर्व गृहमन्त्री बस्नेत लामो समयदेखि प्रतिनिधि सभा सदस्य र मन्त्री रहँदै आएका थिए। उनको यसपटकको पराजयले क्षेत्रीय मतदातामा आएको राजनीतिक परिवर्तनको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।

खड्गबहादुर बुढाको यो जित कांग्रेसका लागि महत्वपूर्ण रहेको बताइएको छ। उनका समर्थकहरूले यो नतिजालाई पार्टीको स्थानीय स्तरमा बढ्दो प्रभावको प्रमाणका रूपमा लिएका छन्।