
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र साह (बालेन) भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
उनका मुख्य प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने १८ हजार ७३४ मतमै सीमित भएका छन्। यससँगै साहले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।
यो परिणामलाई झापा-५ को राजनीतिक इतिहासकै महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ, किनकि उक्त क्षेत्र लामो समयदेखि ओलीको बलियो प्रभाव रहेको निर्वाचन क्षेत्र मानिन्थ्यो। बालेनले यही क्षेत्रमा उम्मेदवारी दिँदै राष्ट्रिय राजनीतिमा नयाँ शक्ति उदाएको संकेत दिएका थिए।
झापा-५ मा भएको प्रतिस्पर्धा देशकै सबैभन्दा चर्चित चुनावी भिडन्तमध्ये एक थियो। एकातिर चार पटक प्रधानमन्त्री भइसकेका अनुभवी नेता केपी शर्मा ओली थिए भने अर्कोतर्फ युवा पुस्तामाझ लोकप्रिय र परिवर्तनको एजेन्डा बोकेका नेता बालेन्द्र शाह थिए।
पूर्व मेयरसमेत रहेका शाहले काठमाडौँ महानगरको नेतृत्वबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै रास्वपाबाट उम्मेदवारी दिएका थिए।