
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सिरहा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बब्लु गुप्ता ४१ हजार ३३३ मतसहित विजयी भएका छन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार गुप्ताले ४१ हजार ३ सय २२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत प्राप्त गरे। यससँगै गुप्ताले करिब ३१ हजारभन्दा बढी मतान्तरले जित हात पारेका छन्।
यसैगरी नेकपा एमालेका रामशंकर यादवले ७ हजार ८६६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे। नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८५३ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी (जसपा) नेपालका सत्यनारायण यादवले २ हजार २८५ मत पाएका छन्।
लहान नगरपालिका निवासी २८ वर्षीय गुप्ता युवामुखी नेताका रूपमा परिचित छन्। उनी विद्यार्थी जीवनदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्।
वैदेशिक रोजगारीमा ठगीमा परेकाहरूलाई सहयोग गर्ने, विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने तथा उपचारका लागि आएका बिरामीलाई सहयोग गर्ने जस्ता कामका कारण उनी स्थानीय स्तरमा लोकप्रिय बनेका थिए।
कोभिड-१९ महामारीको समयमा राजधानीमा समस्यामा परेका मजदुर तथा विपन्न वर्गका लागि निःशुल्क खाना अभियान सञ्चालन गरेर पनि गुप्ता चर्चामा आएका थिए।
यस निर्वाचनमा सिरहा-१ मा परम्परागत दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रभावशाली जित हासिल गरेको हो।