
काठमाडौं । ओखलढुंगामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल अत्यन्त झिनो मतान्तरले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पार्दै जित हात पारेका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार नेपाल प्रहरीका पूर्व एआइजीसमेत रहेका पोखरेलले १३ हजार ९५३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लुईटेलले १३ हजार ९४८ मत ल्याएका छन्।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छन्। त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार उद्धव कुमार राईले ३ हजार ८५८ मत प्राप्त गरेका छन्।