
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार चौधरीले ३२ हजार ८७५ मत प्राप्त गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन्।
यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन्। यससँगै चौधरीले यादवलाई १७ हजार ६ सय ३६ मतान्तरले पराजित गरेका हुन्।
सप्तरी-३ मा भएको यस निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार गुप्ताले ८ हजार ४२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे भने नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीले ६ हजार ७१५ मत पाएका छन्।
यस क्षेत्रमा सुरुमा मतगणना निकै प्रतिस्पर्धात्मक देखिए पनि अन्तिम चरणमा रास्वपाका उम्मेदवार चौधरीले उल्लेखनीय मतान्तर बनाउँदै विजय हासिल गरेका हुन्।
जसपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका यादव यस पटक चुनावका लागि सप्तरी-३ लाई आफ्नो निर्वाचन क्षेत्र बनाएका थिए। यसअघि उनी अन्य निर्वाचन क्षेत्रबाट पनि चुनाव लड्दै आएका थिए।
सप्तरी-३ मा प्रमुख दलका शीर्ष नेताबीच प्रतिस्पर्धा भएकाले यस क्षेत्रको चुनावलाई निकै चासोका साथ हेरिएको थियो। तर अन्ततः मतदाताले नयाँ दल र नयाँ अनुहारतर्फ समर्थन जनाउँदै रास्वपाका अमरकान्त चौधरीलाई प्रतिनिधिसभामा पठाएका छन्।