प्रलोपाका जनार्दन शर्मालाई हराउँदै रुकुम पश्चिममा नेकपाका गोपाल शर्मा ‘अनल’को जित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा ‘अनल’ले प्रभावशाली जित हासिल गरेका छन्। शर्माले २१ हजार ६०९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाएर दोस्रो स्थानमा रहे। यसअघि चार पटकसम्म रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका जनार्दन शर्माले १४ हजार ३४६ मत मात्र प्राप्त गरे। सधै पहिलो हुने शर्मा यसपटक तेस्रो स्थानमा सीमित भए।

विगतमा जनार्दन शर्मालाई चुनाव जिताउन जिल्लामा चुनावी कमान्ड सम्हाल्दै आएका उनी यसपटक भने आफैं उम्मेदवार बनेर विजयी भएका थिए। यसलाई स्थानीय राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

यद्यपि संघीय संसद्मा उनको यो पहिलो प्रवेश भए पनि उनीसँग राजनीतिक र संसदीय अनुभव प्रशस्त छ। २०७४ सालको निर्वाचनमा उनी रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। सोही कार्यकालमा २०७८ सालमा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए।

 

सिफारिस