प्रचण्डका पूर्व स्वकीय सचिव रमेश मल्ल सल्यानबाट विजयी

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सल्यान निर्वाचन क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेश कुमार मल्ल विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार मल्लले २३ हजार १८९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललित कुमार चन्दले २० हजार ९०४ मत प्राप्त गरेका छन्। मल्लले चन्दलाई २ हजार २८५ मतान्तरले पराजित गरेका हुन्।

यसैगरी, नेपाली कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेका छन् भने नेकपा (एमाले) का गुलाबजंग शाहले १५ हजार ३७३ मत प्राप्त गरेका छन्।

यस पटकको निर्वाचनमा सल्यानमा मुख्य रूपमा नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाको सुरुदेखि नै मल्लले अग्रता कायम राखेका थिए भने अन्तिम चरणसम्म प्रतिस्पर्धा निकै रोचक बनेको थियो। अन्ततः मल्लले आफ्नो अग्रता जोगाउँदै विजय हासिल गर्न सफल भए।

विजयी भएपछि मल्लले सल्यानका जनताको विश्वासलाई सम्मान गर्दै जिल्लाको विकास, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

राजनीतिमा लामो समयदेखि सक्रिय मल्लले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट राजनीति सुरु गरेका थिए। पछि उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवसमेत भइसकेका थिए।