काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतान्तरले विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरेका छन्। त्यस्तै उज्यालो नेपाल पार्टीका राजाराम टन्डुकारले ५ हजार ५४७ मत र नेकपा (एमाले)का प्रेमबहादुर महर्जनले ४ हजार ५३६ मत प्राप्त गरेका छन्।
जगदीश खरेल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रहिसकेका व्यक्ति हुन्। उनले निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए र त्यसपछि ललितपुर–२ बाट उम्मेदवार बनेका थिए।
खरेलको विजयलाई ललितपुर क्षेत्रको परम्परागत दलहरूको प्रभावमा आएको परिवर्तनका रूपमा विश्लेषण गरिएको छ। यो निर्वाचनमा रास्वपाले देशका विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको देखिन्छ, जसले नेपालको राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदलको संकेत दिएको छ।