सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या, निष्पक्ष छानबिन र न्यायको माग

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सुर्खेतको गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विक मृत्यु प्रकरणलाई लिएर निष्पक्ष छानबिन र न्यायको माग गरिएको छ । विकको बलात्कारपछि हत्या गरिएको भन्दै परिवारले छानबिन र न्यायको माग गरेका हुन ।

इनिसा विक फागुन २३ गते बिहान वीरेन्द्रनगर-४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । परिवारका अनुसार इनिसामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।

सोही आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका नाबालिग रहेको प्रहरीले जनाएको छ ।

घटनाका दिन शनिबार बिहान करिब ६ बजे इनिसा ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन् । उनकी आमा तिला विकले भनिन्, ‘शनिबार भएकाले मैले कतै नजान भनेकी थिएँ । दुई घण्टाभित्र फर्कने भन्दै उ घरबाट हिँडेकी थिइ ।’

वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसा बिहान ८ बजेसम्म घर फर्किसक्ने भन्दै निस्किएकी उनकाी आमाले बताइन् । तर ९ बजेसम्म पनि घर नफर्किएपछि आमाले फोन गर्दा मोबाइल बन्द थियो ।

केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्ने सूचना आएको इनिसाकी आमा तिलाले बताइन् । त्यसपछि तिला घटनास्थल पुगेकी थिइन् ।

छोरीको शरीर रगतले लतपतिएको, कपडा नलगाएको, कपाल लुछिएको र शरीरभरि चोटपटक देखिएको बताएकी छन् । बेहोस अवस्थामा भेटिएकी इनिसालाई प्रहरीले प्रदेश अस्पताल कालागाउँ पुर्‍याएको थियो । तर चिकित्सकले अस्पताल पुर्‍याउँदा नै मृत घोषणा गरेका थिए ।

आफन्तहरूले इनिसामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको बताएका छन् । परिवारले चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएका छन् ।

इनिसाका बुवा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाशपछि रोजगारीका लागि दुबईमा कार्यरत छन् । उनी एक महिनाअघि मात्रै छुट्टी सकेर दुबई फर्किएका थिए ।

छोरीको मृत्युको खबर पाएपछि उनी स्वदेश फर्किने प्रयासमा भए पनि मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण उडान प्रभावित हुँदा दुबई विमानस्थलमै अलपत्र परेको परिवारले जनाएको छ ।

उता सुर्खेतमा भने छोरीको मृत्युको पीडाले आमा तिला विकको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको आफन्तहरूले बताएका छन् ।

परिवारले निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको बताए ।

प्रहरीका अनुसार पक्राउ परेका एक किशोरले इनिसासँग शारीरिक सम्पर्क भएपछि अत्यधिक रक्तश्राव भएको र उनी अचेत भएपछि अन्य साथीहरूलाई बोलाएको बयान दिएका छन् ।

तर पोस्टमार्टम रिपोर्ट अझै नआएकाले घटनाको वास्तविक कारण पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको गम्भीरता हेर्दै थप परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पतालबाट विशेषज्ञ टोली बोलाइएको बताइएको छ ।

जिल्लाका विभिन्न अधिकारवादी संघसंस्थाहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।