काठमाौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार गोरखा-१ र इलाम-१ को मतगणना सकिएसँगै समानुपातिकतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएको हो।
मतगणना सकिएपछि सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट आयोगमा विवरण आउने क्रम भने अझै जारी रहेको उनले जानकारी दिए ।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया पनि सुरु गरिएको आयोगले जनाएको छ। केही दिनभित्र यो प्रक्रिया टुङ्गिने अपेक्षा गरिएको छ।
यसैबीच आज बिहान ११ बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोले जनाएको छ। गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ मतसहित अग्रस्थानमा रहेको छ।
त्यसैगरी नेपाली काँग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३ र नेकपा एमालेले १४ लाख ४८ हजार आठ सय ५४ मत प्राप्त गरेको छ ।
त्यस्तै, नेकपाले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत प्राप्त गरेका छन्।
अन्य दलहरू भने थ्रेसहोल्ड कटाउने अवस्थामा नदेखिएको जनाइएको छ।