प्रतिनिधि सभा निर्वाचनमा २८ सय ९० जना उम्मेदवारको जमानत जफत, यस्तो छ-कानुनी ब्यवस्था

दियोपोस्ट संवाददाता  

काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आवश्यक मत प्राप्त गर्न नसक्दा २८ सय ९० जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन आयोगका सुचना अधिकारी सुमन घिमिरेका अनुसार देशभरका विभिन्न निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका उम्मेदवारको जमानत जफत भएको हो ।

कुल सदर मतको १० प्रतिशत मतसमेत प्राप्त गर्न नसक्दा उनीहरूले उम्मेदवारी दर्ता गर्दा राखेको धरौटी रकम रकम फिर्ता नहुने भएपछि जमानत जफत भएको सुचना अधिकारी घिमिरेले जानकारी दिए ।

कुन पार्टीका कति जना उम्मेदवारको जमानत जफत भयो बारेमा आयोगले तथ्याङ्क संकलन गरिरहेको र सबै बिवरण तत्कालै सार्वजनिक गरिने उनले बताए ।

निर्वाचन ऐनअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले तोकिएको रकम धरौटीका रूपमा निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ। तर मतगणनापछि उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेमा उक्त धरौटी रकम फिर्ता पाइँदैन।

जमानत जफत हुने कानुनी व्यवस्था:
निर्वाचन व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटी रकम बुझाउनुपर्छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि उम्मेदवारले १० प्रतिशतभन्दा कम मत ल्याएमा सो रकम राज्यकोषमा जम्मा हुन्छ। यसरी न्यूनतम मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान लागू हुन्छ। यस निर्वाचनमा जमानत जफत वापतको दुई करोड ८९ लाख रुपैयाँ राज्य कोषमा जम्मा हुनेछ ।

विभिन्न जिल्लामा धेरै उम्मेदवारको जमानत जफत:
निर्वाचनपछि सार्वजनिक भएका विवरणअनुसार विभिन्न जिल्लामा ठूलो संख्यामा उम्मेदवारको जमानत जफत भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नं. १ मा प्रतिस्पर्धा गरेका २९ उम्मेदवारमध्ये २६ जनाको जमानत जफत भएको छ।

कञ्चनपुर–२ मा १९ उम्मेदवारमध्ये १५ जनाको जमानत जफत भएको छभने बैतडीमा ७ उम्मेदवारको जमानत जफत भएको छ। बाजुरामा ८ मध्ये ५ उम्मेदवारले न्यूनतम मत प्राप्त गर्न नसकेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, खोटाङमा ११ उम्मेदवारको जमानत जफत भएको छ।

यस्तै विभिन्न जिल्लाको विवरण जोड्दा सात जिल्लामात्रै करिब ४९३ उम्मेदवारको जमानत जफत भएको तथ्य सार्वजनिक भएको छ।

विभिन्न दल र स्वतन्त्र उम्मेदवार प्रभावित:
जमानत जफत हुने उम्मेदवारहरूमा सबै भन्दा बढी मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू रहेका छन्। यसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी लगायतका दलका उम्मेदवारसमेत रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्वतन्त्र उम्मेदवार सबैभन्दा बढी:
जमानत जफत हुने उम्मेदवारमध्ये सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएकाले जमानत जफत हुनेमा पनि उनीहरूको संख्या उल्लेख्य रहेको छ।