सुर्खेतकी इनिसा विकको बलात्कारपछि ‘हत्या’ प्रकरणविरुद्ध काठमाडौंमा विरोध

दियोपोस्ट संवाददाता  

काठमाडौं । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।दलित अधिकारकर्मी तथा विभिन्न सामाजिक अभियन्ताहरूले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध सभा गरेका हुन्।

प्रदर्शनकारीहरूले सरकारले घटनाको सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले सुर्खेत घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन तथा अनुसन्धान पारदर्शी बनाउन सरकारसँग माग गरेका थिए।

दलित समुदायमाथि भइरहेका हिंसा र लैङ्गिक अपराधका घटनाहरूलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै राज्यको ध्यानाकर्षण गराएका छन्।

विरोध प्रदर्शनमा सहभागीहरूले यसअघि भएका बलात्कार तथा हत्या घटनाहरूको पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनीहरूले कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागिरथी भट्टको हत्या प्रकरण अझै पूर्ण रूपमा न्यायिक निष्कर्षमा नपुगेको भन्दै ती घटनाको समेत पुनः छानबिन गर्न माग गरेका छन्।

प्रदर्शनकारीहरूले यस्ता घटनामा ढिलाइ हुने अनुसन्धान, कमजोर अभियोजन र दण्डहीनताको संस्कृति अन्त्य गर्नुपर्ने बताएका छन्। उनीहरूले महिलामाथि हुने हिंसा र दलित समुदायमाथि हुने अपराध रोक्न राज्यले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

प्रहरीले सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा १६ वर्षीया इनिसा विकमाथि बलात्कार गरी हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सबै जना १८ वर्षभन्दा कम उमेरका नाबालक रहेको बताइएको छ।