काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका अधिकांश पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा मधेश प्रदेशका केही क्षेत्रमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्।
कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।