काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा खसेको कुल मतको ४.७१ प्रतिशत मत बदर भएको हो।
निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी दिलीप भाटका अनुसार सुदूरपश्चिममा कुल १७ लाख २९ हजार ४५० मतदाता रहेकामा आठ लाख ८४ हजार १७७ मत खसेका थिए। तीमध्ये ४१ हजार ६२४ मत बदर भएको जनाइएको छ।
कैलालीका पाँचवटा निर्वाचन क्षेत्रमा उल्लेख्य संख्यामा मत बदर भएका छन्। कैलाली-१ मा ५९ हजार ३११ मत खसेकामा तीन हजार २५८ मत बदर भएका छन् भने कैलाली-२ मा ५६ हजार ९६७ मत खसेकामा दुई हजार ६४६ मत बदर भएका छन्। कैलाली-३ मा ६० हजार ३३२ मत खसेकामा दुई हजार ९१३ मत बदर भएका छन् भने कैलाली-४ मा ६३ हजार ११७ मत खसेकामा दुई हजार ९०७ मत बदर भएका छन्। त्यस्तै कैलाली-५ मा ६६ हजार २९५ मत खसेकामा दुई हजार ८०७ मत बदर भएको छ।
कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा पनि उल्लेख्य मत बदर भएका छन्। कञ्चनपुर-१ मा ६१ हजार ३६७ मत खसेकामा तीन हजार २३४ मत बदर भएका छन् भने कञ्चनपुर-२ मा ६६ हजार ५४ मत खसेकामा तीन हजार ४३० मत बदर भएका छन्। कञ्चनपुर-३ मा ५८ हजार ५४३ मत खसेकामा तीन हजार ३९९ मत बदर भएका छन्।
अछामका दुई निर्वाचन क्षेत्रमा अछाम-१ मा ३२ हजार २४३ मत खसेकामा एक हजार ११९ मत बदर भएका छन् भने अछाम-२ मा ३२ हजार ६५० मत खसेकामा एक हजार ५३१ मत बदर भएका छन्। बाजुरामा ४५ हजार ६६९ मत खसेकामा एक हजार २०० मत बदर भएको छ।
डोटीमा ५२ हजार ९०६ मत खसेकामा दुई हजार ४६९ मत बदर भएको छ भने दार्चुलामा ५० हजार ९३० मत खसेकामा एक हजार ६०८ मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। बैतडीमा ७२ हजार ३०८ मत खसेकामा चार हजार १२६ मत बदर भएका छन् भने डडेल्धुरामा २६ हजार २११ मत खसेकामा दुई हजार २५ मत बदर भएका छन्।
प्रदेशमा कुल ५१.१२ प्रतिशत मतदान भएको थियो। त्यसमध्ये ९५.२९ प्रतिशत मत सदर र ४.७१ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सिटमध्ये कैलालीका पाँच, कञ्चनपुरका तीन तथा बैतडी र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए। डोटी, अछाम–१ र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने बझाङ, दार्चुला र अछाम-२ मा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।