काठमाडौँ । सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा काठमाडौँमा केही दिनयता लगातार आन्दोलन भइरहेको छ। पीडित परिवारलाई न्याय दिलाउन र घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गर्दै शनिबार पनि काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो।
नेपाल दलित उत्पीडित केन्द्र तथा राष्ट्रिय दलित एकता गोलमेच सम्मेलनको आयोजनामा सम्पन्न भएको विरोध सभामा विभिन्न दलित अधिकारकर्मी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले ‘इनिसालाई न्याय दे’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारासहित प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।
सुर्खेतको वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वन क्षेत्रमा फागुन २३ गते बिहान इनिसा विक अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धान तथा पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। मृतकका परिवारजनले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।
यस घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा निरन्तर प्रदर्शन भइरहेको छ। प्रदर्शनमा सहभागीहरूले सरकारलाई बलात्कार तथा महिलामाथि हुने हिंसाका घटनामा कडा कदम चाल्न आग्रह गरेका छन्।
अधिकारकर्मीहरूले देशभर महिलामाथि हुने हिंसा र दलित समुदायमाथि हुने अपराध बढ्दो अवस्थामा रहेको भन्दै राज्यले दोषीलाई उन्मुक्ति नदिने वातावरण बनाउनुपर्ने बताएका छन्।
अभियन्ताहरूले इनिसा विकको घटना मात्र ८ वर्ष अघि कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या, भागिरथी भट्ट हत्या, सम्झना बिके र सस्मिका परियारको बलात्कारपछि हत्या जस्ता घटनाहरूले न्याय प्रणालीमाथि प्रश्न उठाएको पनि बताए ।
यसैबीच, पीडित परिवार र अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही तथा महिलामाथि हुने हिंसा रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

