
काठमाडौँ । स्रष्टा तथा संगीतकार महेश्वर पन्तको कथासङ्ग्रह ‘धर्तीमुनिका तारा’ एक विशेष साहित्यिक समारोहबीच सार्वजनिक गरिएको छ। साहित्यकार रमेश दाहालको सम्पादनमा तयार भएको उक्त कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो।
कृतिको लोकार्पण सभापति पार्थिवेश्वर तिमिल्सिना, विशेष अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशेष वक्ता प्रा.डा. गोविन्दमानसिंह कार्की, प्रा.डा. रामप्रसाद दाहाल, सन्ध्या पहाडी, स्रष्टा महेश्वर पन्त, अनेसासका अध्यक्ष राजेन्द्र के।सी।, सम्पादक रमेश दाहाल तथा राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेलगायत मञ्चासीन व्यक्तित्वहरूले संयुक्त रूपमा गरेका थिए।
सो अवसरमा अनेसास नेपाल च्याप्टरले स्रष्टा महेश्वर पन्तलाई खादा, माला र दोसल्लासहित “स्रष्टा प्रज्ञा सम्मान-२०८२” प्रदान गर्दै सम्मान गरेको थियो।
कार्यक्रमका अतिथि सन्ध्या पहाडीले कथासङ्ग्रहमा समेटिएका नारीसम्बन्धी संवेदनशील विषयवस्तुमाथि विश्लेषणात्मक चर्चा प्रस्तुत गरिन्। त्यस्तै प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिको संरचना, विषयवस्तु र साहित्यिक महत्वबारे टिप्पणी गरे भने प्रा.डा. रामप्रसाद दाहालले कथाहरूमा अभिव्यक्त जीवनानुभूति, अन्तर्निहित सन्देश तथा पाठकमा पर्ने प्रभावबारे गहिरो समीक्षा प्रस्तुत गरे।
यस अवसरमा स्रष्टा महेश्वर पन्तले कथा लेखनका प्रेरणास्रोत, विषयवस्तुको छनोट तथा पात्रहरूसँगको आफ्ना अनुभवहरूबारे विचार राखे। पन्तका ‘मुन्द्री’, ‘नबोल्नेहरू’, ‘फुर्लुङ’ र ‘बौलाको डायरी’ लगायतका कथा तथा उपन्याससहित आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् र ती पाठकमाझ लोकप्रिय मानिन्छन्। उनी विभिन्न संस्थाबाट सम्मानित तथा पुरस्कृत पनि भइसकेका छन्।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्रष्टा पन्तको साहित्यिक यात्राको प्रशंसा गर्दै आगामी दिनमा अझ सफलताको कामना गरे। साथै साहित्यकार मदनराज थापा, अनेसास गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र के.स. ‘देवु’ तथा अनेसास हवाई च्याप्टरकी अध्यक्ष अमृता स्मृतिले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सम्पादक रमेश दाहालले आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि भूपाल राईको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए। प्रमुख अतिथि राईले स्रष्टा महेश्वर पन्तको साहित्यिक योगदानको प्रशंसा गर्दै अमेरिकाको भ्रमणका क्रममा पन्तबाट प्राप्त आत्मीय आतिथ्यको स्मरण गर्दै ‘धर्तीमुनिका तारा’ कृतिको महत्वबारे धारणा व्यक्त गरे।
कार्यक्रमका अवसरमा प्रतिष्ठानका उपाध्यक्ष गजबकुमारी तिमिल्सिना, पार्थिवेश्वर तिमिल्सिना र राजेन्द्र के।सी।ले सम्पादक रमेश दाहाल, विशेष वक्ताहरू प्रा.डा. गोविन्दमानसिंह कार्की, प्रा.डा. रामप्रसाद दाहाल, सन्ध्या पहाडी तथा प्रमुख अतिथि कुलपति भूपाल राईलाई स्मृतिचिह्न प्रदान गरेका थिए।
कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रकाशित यस कृतिको बिक्रीबाट संकलित रकम नेपाली भाषा र साहित्यको प्रवर्द्धन तथा सामाजिक विकासका कार्यमा प्रयोग गरिने स्रष्टा महेश्वर पन्तले जानकारी दिएका छन्।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको थिया । सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा सहभागी थिए।







