जेन-जी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौं । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। जेनजी अलायन्सका अभियन्ताहरूले आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको वास्तविकता सार्वजनिक गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

सरकारले गत असोज ५ गते भदौ २३ र २४ मा काठमाडौं लगायतका स्थानमा भएको जेन-जी आन्दोलनका घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।

आयोगले आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षति, सुरक्षा निकायको भूमिका तथा घटनाक्रमबारे अनुसन्धान गर्दै १५० भन्दा बढी सरकारी अधिकारी र प्रत्यक्षदर्शीहरूसँग बयान लिएको थियो।

आयोगले आफ्नो अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि प्रतिवेदनको विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। सो अवसरमा प्रदर्शनकारीहरुले यस अघिका लाल, रायमाझी, मल्लिक आयोगका साथै कार्की आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न माग गरेका छन् ।

उनीहरुले प्रतिवेदन सार्वजनिक गरी जिम्मेवार व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग दबाब दिइरहेका छन् ।

प्रदर्शनकारीहरूले सत्यतथ्य बाहिर ल्याउन र पीडितलाई न्याय दिलाउन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै माइतीघरमा विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।

सम्बन्धित खबर

सिफारिस