इनिसा विक हत्या प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै दलित मुक्ति मोर्चाले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

दियोपोस्ट संवाददाता

काठमाडौं । सुर्खेतमा बलात्कार पछि हत्या गरिएकी इनिसा विकको बलात्कार पछि हत्या गरिएको विषयमा नेपाल दलित मुक्ति मोर्चाले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाले उक्त घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न माग गर्दै आइतबार गृहमन्त्री ओप्रकाश अर्यालालाई ज्ञापन पत्र बुझाएको हो ।

मोर्चाले विज्ञप्ती मार्फत यस घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त घटना अत्यन्तै दुःखद, अमानवीय र निन्दनीय रहेको बताएको छ। संगठनले गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

देशभर महिला तथा बालबालिकामाथि हुने यौन हिंसा, दुर्व्यवहार र बलात्कारपछि हत्याजस्ता घटनाहरू पटक-पटक दोहोरिइरहेको उल्लेख गर्दै दलित समुदाय, विशेषगरी दलित महिलामाथि हुने विभेद, अपमान र हिंसाका घटनाहरू रोक्न प्रभावकारी कदम चाल्न मोर्चाले सरकारसँग आग्रह गरेको छ।

घटनामा संलग्न भएको आशंकामा अनमोल गौलीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ। मोर्चाले अनुसन्धानलाई कमजोर पार्न कुनै पनि प्रकारको राजनीतिक वा प्रशासनिक दबाब नआओस् भनी खबरदारी गर्दै निष्पक्ष छानबिन गर्न गृहमन्त्रालयसंग माग समेत गरेको छ।

मोर्चाले पीडित परिवारले भोगेको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि नेपाल सरकारसँग माग गरेको छ।

दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाली र मोर्चाका अन्य पदाधिकारी लगायतको टोलीले मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएको थियो ।

स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत इनिशा फागुन २३ गते बिहान करिब ६ बजे ट्युशन पढ्न भन्दै घरबाट निस्केकी थिइन्। उनी लामो समयसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा वीरेन्द्रनगर-४ स्थित शहीद पार्क नजिकको सामुदायिक वन क्षेत्रमा उनी बेहोस, रक्ताम्य र नग्न अवस्थामा फेला परेकी थिइन् ।

सम्बन्धित खबर

सिफारिस