चौरजहारीका मेयर र इन्जिनियर विरुद्ध भ्रष्ट्रचार मुद्दा दायर, सापटी लिएको रकमलाई ‘घुस’ भनेर फसाइएको मेयरको दावी

दियोपोस्ट संवाददाता

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र असिस्टेन्ट सब-इन्जिनियर मनोज शाहविरुद्ध मंगलबार भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। करार सेवा नवीकरणका लागि घुस लिएको आरोपमा वादी र घुस दिएको आरोपमा शाहविरुद्ध आयोगले विशेष अदालतमा अभियोग दर्ता गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० मा करार म्याद थप गरिदिने सर्तमा नगर प्रमुख वादीले मोहन शाहसँग एक लाख रुपैयाँ घुस लिएको आरोप छ। उक्त रकम २०८० साउन ८ गते वादीको बैंक खातामा जम्मा गरिएको प्रमाणसमेत पेश गरिएको जनाइएको छ।

घुस दिएपछि शाहको असिस्टेन्ट सब–इन्जिनियर पदमा एक वर्षका लागि करार अवधि थप गरिएको आरोप पनि अभियोगपत्रमा उल्लेख छ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि पुनः करार नवीकरण गर्न थप रकम माग गरिएको, तर रकम उपलब्ध नगराएपछि शाहलाई सेवाबाट हटाइएको उजुरीमा उल्लेख गरिएको छ।

यता नगर प्रमुख वादीले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्। उनले व्यक्तिगत आवश्यकताका लागि सापटीस्वरूप रकम लिएको र पछि फिर्ता गरिसकेको दाबी गर्दै करार नवीकरणसँग घुसको कुनै सम्बन्ध नरहेको बताएका छन्। राजनीतिक प्रतिशोधका कारण आफूलाई फसाइएको उनको भनाइ छ।

त्यसैगरी, लोकसेवा आयोगमार्फत स्थायी कर्मचारी खटाइएकाले नियमअनुसार करारमा राख्न नसकिने अवस्था आएपछि शाहलाई हटाइएको दाबी पनि वादीले गरेका छन्। दुई वर्षअघिको सापटीलाई घुसका रूपमा व्याख्या गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

वादीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ अन्तर्गत मुद्दा चलाइएको छ। एक लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र घुस रकम जफत गर्न माग गरिएको छ भने सार्वजनिक पदमा रहेको कारण थप सजायसमेत माग गरिएको छ।

यस्तै, मोहन शाहमाथि पनि सोही ऐनको दफा ३(३) अनुसार घुस दिएको अभियोग लगाइएको छ। उनीमाथि पनि बराबर बिगो कायम गरी कैद, जरिवाना र रकम जफतको माग गरिएको आयोगले जनाएको छ ।