नगरप्रमुखविरुद्ध उजुरी दिएका सब-इन्जिनियर नै घुस प्रकरणमा दोषी ठहर, विशेष अदालतमा मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहले नगरप्रमुखविरुद्ध घुस दिएको आरोप लगाउँदै अख्तियारमा उजुरी दिए पनि अन्ततः सोही प्रकरणमा उनी स्वयं दोषी देखिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहविरुद्ध घुस दिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

शाहले आफ्नो करार अवधि थप गराउन नगरप्रमुख पुष्प वादीलाई एक लाख रुपैयाँ घुस दिएको दाबी गर्दै अख्तियारमा उजुरी दिएका थिए। तर अनुसन्धानका क्रममा घुस लेनदेनमा उनी आफैं संलग्न रहेको निष्कर्ष निकाल्दै अख्तियारले उल्टै उनीविरुद्ध मुद्दा अघि बढाएको जनाएको छ।

शाहले आर्थिक वर्ष २०७९/०८० मा करार अवधि थप गरिदिने सर्तमा नगरप्रमुखलाई एक लाख रुपैयाँ दिएको र त्यसपछि एक वर्षका लागि आफ्नो करार नवीकरण गरिएको उल्लेख गरेका छन्। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि पुनः करार नवीकरण गर्न थप रकम माग गरिएको तर रकम नदिएपछि आफूलाई सेवाबाट हटाइएको उनले उजुरीमा जनाएका छन्।

यता नगरप्रमुख वादीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफुलाई योजनाबद्ध रूपमा फसाउन गरिएको षड्यन्त्र भएको बताएका छन्। प्रमुख वादीले २०८० साउन ८ गते आफु पोखरामा पार्टीको बैठकमा रहेका बेला व्यक्तिगत आवश्यकताका कारण शाहसँग एक लाख रुपैयाँ सापटी लिएको बताउँदै आएका छन् ।

उक्त रकम बैंक खातामार्फत प्राप्त भएको र पछि नगदमै फिर्ता गरिएको उनले दाबी गरेका छन्। तर नगद फिर्ताको प्रमाण कागजी रूपमा नरहेको प्रमुख वादीले बताउँदै आएका छन् । यद्यपि नगद रकम फिर्ता गरेको प्रत्यक्षदर्शीहरू समेत रहेको उनको भनाइ छ।

वादीका अनुसार शाह करारमा कार्यरत रहेका बेला लोकसेवा आयोगमार्फत स्थायी कर्मचारी खटिएपछि उनको करार स्वतः समाप्त भएको थियो। त्यसैले करार म्याद थपका लागि घुस लिएको आरोप निराधार रहेको उनको दाबी छ। उनले यसलाई व्यक्तिगत प्रतिशोधको परिणामसमेत बताएका छन्।

अख्तियारले शाह र प्रमुख वादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत मुद्दा दायर गर्दै एक लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र सो रकम जफत गर्न माग गरेको छ। साथै सार्वजनिक पदसँग सम्बन्धित मुद्दा भएकाले थप सजायको माग पनि गरिएको छ।