खोटाङमा हेलिकोप्टर दुर्घटना, सबै यात्रु सकुशल

दियोपोस्ट संवाददाता  

काठमाडौँ । खोटाङको केपिलासगडी गाउँपालिका–२ खार्तम्छास्थित बालावेशीमा आज हेलिकोप्टर दुर्घटना भएको छ। गाउँपालिकाका अध्यक्ष समिर राईका अनुसार एयर डाइनेष्टीको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो।

काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको उक्त हेलिकोप्टरमा चालक दलसहित ६ जना सवार रहेका थिए। स्थानीय एक व्यक्तिको काठमाडौँमा मृत्यु भएपछि हेलिकोप्टरमार्फत शव गाउँ पुर्याइएको थियो ।

घर नजिकैको बारीमा अवतरण गर्ने क्रममा हेलिकोप्टर अनियन्त्रित भई बारीको डिलमा पुगेर पल्टिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

हेलिकोप्टरको पछाडीको भागमा क्षति पुगेको छ भने दुर्घटनामा परेका सबै ६ जना यात्रु सकुशल रहेको र उनीहरूलाई सामान्य चोटपटक लागेको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।