काठमाडौँ । प्रभु बैंक लिमिटेडको कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डंगोल पक्राउ परेका छन्। बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले उनलाई नियन्त्रणमा लिएको हो।
ब्यूरोका अनुसार डंगोलमाथि नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरी कर्जा दुरुपयोग तथा अनियमितता गरेको आरोप छ। उनी कार्यरत प्रभु बैंकमार्फत प्रभु म्यानेजमेन्ट प्रा.लि.सँग सम्बन्धित कर्जामा अनियमितता गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जनाइएको छ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कसुर पुष्टि हुने आधार देखिएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो। सोही आधारमा उनलाई २०८२ माघ ७ गते काठमाडौं महानगरपालिका-११, थापाथलीबाट पक्राउ गरिएको हो।
हाल उनीमाथि थप अनुसन्धानका लागि म्याद थप भई प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सिआइवीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।