काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले अघि बढाउने दीर्घकालीन परियोजनाहरूमा लगानी कोषको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। कोषको ३६औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता परियोजनामा लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने निर्णय सरकारले गरिसकेको उल्लेख गर्दै सो आयोजनामा लगानी कोषसँगै अन्य संस्थाहरूको पनि सहभागिता आवश्यक रहेको बताए। कर प्रणालीमा सुधारको आवश्यकता औँल्याउँदै उनले दोहोरो कर हटाई समानता र नीतिगत सहजता ल्याउनुपर्ने धारणा व्यक्त गरे। आफ्नो कार्यकालमा समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले आगामी सरकारले यसतर्फ पहल गर्ने विश्वास व्यक्त गरे।
खनालले १५-२० वर्ष अवधिका ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै त्यसले बजारमा रहेको अधिक तरलता व्यवस्थापनमा सहयोग पुग्ने बताए। सार्वजनिक-निजी साझेदारी (पिपिपि) मार्फत नयाँ परियोजना, विशेषगरी कृषि क्षेत्रमा भूमिको हदबन्दी हटाएर लगानी विस्तार गर्न सकिनेमा पनि उनले जोड दिए।
२०४७ सालमा अन्तरिम सरकारको समयमा स्थापना भएको कोष अहिले ३६औँ वर्षमा प्रवेश गरेको स्मरण गर्दै उनले दीर्घकालीन सफलताको कामना गरे। अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए पनि मध्यपूर्वको अवस्थाले आपूर्ति प्रणालीमा असर पार्न सक्ने चिन्ता उनले व्यक्त गरे।
कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले स्थापना कालदेखि नै निरन्तर नाफा आर्जन, विविध योजना सञ्चालन र सहभागी संख्या वृद्धि कोषको सफलताको आधार भएको बताए। उनले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारजस्ता उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए।
कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हाल सातवटा योजना सञ्चालनमा रहेको जानकारी दिँदै पूर्वाधार क्षेत्रमा लगानी विस्तार तथा भेन्चर क्यापिटलमार्फत नयाँ अवसर सिर्जना गर्ने प्रयास भइरहेको बताए। यसका लागि आवश्यक ऐन, नियम तथा कानुन संशोधन प्रक्रियामा रहेको उनले उल्लेख गरे। साथै, यान्त्रिकीकरण र अटोमेसनलाई प्राथमिकतामा राखिएको पनि उनले बताए।
ब्याजदरमा आएको गिरावटले आम्दानीमा प्रभाव परेको भन्दै कार्कीले उपदान कोष भुक्तानीमा रहेको करसम्बन्धी अन्योलता हटाई समानता कायम गर्नुपर्ने बताए। नागरिक पेन्सन योजना प्रभावकारी रूपमा सञ्चालन गर्न कर संरचनामा सुधार आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कोषले नयाँ लगानी उपकरण र परियोजनामा ध्यान दिनुपर्ने सुझाव दिए भने बैंक कर्जा असुलीमा समस्या देखिएको बताए।
त्यस्तै, कोषका पूर्व अध्यक्ष डा. महाश्रम शर्माले आर्थिक तथा सामाजिक रूपान्तरणमा कोषको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेलले कर्मचारीको वृत्ति विकास र सेवा-सुविधा सुधार गर्नुपर्ने माग राखे। नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापाले आगामी बजेटमा कर सहुलियत तथा करार कर्मचारीका लागि अवसर विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रमका अवसरमा उत्कृष्ट कर्मचारी तथा जेनजी आन्दोलनसँग सम्बन्धित सुरक्षाकर्मीहरूलाई सम्मान गरिएको थियो।
