बालिकालाई अपहरण गरी एक करोड फिरौती माग्ने ब्यक्ति पुर्पक्षका लागि कारागार चलान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सप्तरीमा सात वर्षीया बालिकालाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती माग्ने एक अभियुक्तलाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार पठाइएको छ। जिल्ला अदालत सप्तरीले दिएको आदेशअनुसार खडक नगरपालिका-९ सर्पा टोलका ३० वर्षीय इम्तियाज अहमदलाई राजविराजस्थित कारागार कार्यालय पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोही नगरपालिका-८ बिसनपुरमा बसोबास गर्ने इमरान खानकी छोरी आसु खातुन (नेहा खातुन) लाई फागुन ५ गते साँझ करिब ७ बजे अहमदले मोटरसाइकलमा राखेर अपहरण गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले बालिकाको खोजी कार्य तीव्र बनाएको थियो। अनुसन्धानका क्रममा फागुन ७ गते बिहान करिब ११ बजे अपहरणकारीले बालिकाका बुवालाई फोन गरी एक करोड रुपैयाँ नगद र पाँच किलो सुन फिरौती मागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फिरौती लिन रूपनी गाउँपालिका-१ स्थित खाँडो खोलामा बोलाएपछि सादा पोशाकमा खटिएको टोलीले सोही दिन साँझ अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएको थियो।

पक्राउ परेका अहमदविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव ओसारपसारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। अदालतको मङ्गलबारको आदेशअनुसार उनलाई थप अनुसन्धान तथा पुर्पक्षका लागि कारागार पठाइएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।