काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्पूर्ण प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान र इमानदार हुन निर्देशन दिएका छन्। उनले उत्कृष्ट व्यवहार, शिष्ट बोली तथा जिम्मेवार आचरणलाई आत्मसात् गर्दै नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह गर्न जोड दिएका हुन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत बुधबार आयोजित समसामयिक विषयसम्बन्धी सम्बोधनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्। सो अवसरमा उनले हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे। यस उपलब्धिले संगठनको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याएको उनले बताए।
प्रहरी कार्य नै आफ्नो धर्म र कर्तव्य भएको उल्लेख गर्दै कार्कीले प्रत्येक प्रहरी कर्मचारीले आफ्नो कार्यक्षेत्रबारे स्पष्ट जानकारी राखी योजनाबद्ध ढंगले सुरक्षा व्यवस्था अझ सुदृढ बनाउनुपर्ने बताए। उनले आपराधिक गतिविधि रोकथामका लागि सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्दै सधैं तयारी अवस्थामा रहन निर्देशन दिए।
सीमा नाकामा हुन सक्ने अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा हातहतियार बरामद जस्ता कार्यमा विशेष सुरक्षा रणनीति अपनाउनुपर्नेमा उनले जोड दिए। साथै, कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन र हिरासत व्यवस्थापनमा समेत उच्च सतर्कता अपनाउनुपर्ने निर्देशन दिए।
कार्यक्रममा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूले पनि समसामयिक विषयमा आ-आफ्ना धारणा तथा निर्देशन प्रस्तुत गरेका थिए। देशभरका विभिन्न प्रहरी कार्यालय तथा इकाइहरूबाट भर्चुअल रूपमा सहभागिता जनाइएको उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैबीच, हालै सरुवा भई नयाँ जिम्मेवारी सम्हाल्न जाने प्रहरी नायव उपरीक्षक तथा प्रहरी निरीक्षकहरूलाई महानिरीक्षक कार्कीले सफल कार्यकालको शुभकामना दिँदै जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न प्रेरित गरेका थिए।