काठमाडौं । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा ‘हामीले डिजाइन गर्ने र बसोबास गर्ने स्थानहरूको पुनर्कल्पना’ शीर्षकमा एकदिने सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। आर्किटेक्चर विभागका २०२१ ब्याचका स्नातक तहका विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रममा सामाजिक, सांस्कृतिक, वातावरणीय तथा मनोवैज्ञानिक विषयमा आधारित नौ वटा अनुसन्धान प्रस्तुत गरिएका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी डा। झरना जोशीले विद्यार्थीहरूको अनुसन्धानमुखी प्रयासको सराहना गर्दै सामाजिक उत्तरदायित्व बोकेको डिजाइन र अन्तरविषयगत दृष्टिकोणको आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक प्राचार्य मोहन ध्वज के।सी। तथा विभागीय प्रमुख राम प्रसाद सुवाल लगायतको उपस्थिति रहेको थियो।
तीन सत्रमा विभाजन गरिएको सेमिनारमा प्रस्तुत गरिएका अनुसन्धानहरूले विभिन्न समसामयिक विषय समेटेका थिए। तीमध्ये महिलाको अदृश्य श्रम, युवामा बढ्दो डिजिटल लत, परम्परागत ‘नानी’ खुला स्थानमा शहरीकरणको प्रभाव, इँटा उद्योगमा बालश्रम, वैदेशिक पलायन, बनेपाको टुन प्रणाली, देउडा संस्कृति, मानसिक स्वास्थ्य समस्या तथा हनुमन्ते नदीको प्रदूषणजस्ता मुद्दाहरू प्रमुख रहेका थिए।
प्रस्तुत अनुसन्धानहरूले सामाजिक तथा शहरी चुनौतीहरूको गहिरो विश्लेषण गर्दै व्यवहारिक समाधानहरू पनि अघि सारेका थिए। प्यानल छलफल, विद्यार्थी प्रस्तुति र अन्तरक्रियात्मक सत्रहरूले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले अनुसन्धानमा आधारित सिकाइ, सामाजिक उत्तरदायित्व र विद्यार्थी नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
