कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याइएको हो।

दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरू विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका थिए। त्यहाँ पुगेपछि उनीहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको थियो। कतिपय नेपाली वैध भिसा बिना बस्दै आएका थिए भने केहीको पासपोर्ट समेत नियन्त्रणमा लिइएको अवस्था रहेको जनाइएको छ।

उद्धार कार्यमा गैरआवासीय नेपाली संघ एनआरएनए कम्बोडियाले पनि सहजीकरण गरेको थियो। उद्धार गरिएका सबैलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँ पठाइएको दूतावासले जनाएको छ।

यसैबीच, कम्बोडियामा अझै पनि नेपालीहरू अलपत्र पर्ने क्रम जारी रहेको भन्दै दूतावासले समस्यामा परेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ। हालैका घटनाहरूले नेपाली युवाहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लग्ने मानव तस्करी तथा अनलाइन ठगी सञ्जाल सक्रिय रहेको तथ्य पनि उजागर गरेको छ।

सरकार तथा कूटनीतिक नियोगहरूले यस्ता घटनामा सतर्क रहन र वैदेशिक रोजगारीमा जानुअघि आधिकारिक माध्यम प्रयोग गर्न आग्रह गरेका छन्।

सिफारिस