काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नेपाली नागरिकता लिने एक व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार साबिक हुकुम जिल्ला, कोले गाविस वडा नं. १ स्थायी ठेगाना भएका जितबहादुर पुनका छोरा हिक्मत पुनले पहिलो पटक मिति २०४७ फागुन २९ मा जिल्ला प्रशासन कार्यालय रुकुमबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। त्यस क्रममा उनले आफ्नो वास्तविक नाम, जन्म मिति, जन्मस्थान, स्थायी ठेगाना र बाबुको नामसम्बन्धी विवरण फरक पारेर नागरिकता लिएको पाइएको छ।
त्यसपछि पुनः उनले जिल्ला प्रशासन कार्यालय कास्कीबाट मिति २०५८ बैसाख २० मा अर्को नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार दोहोरो नागरिकता लिएको विषयमा थप अनुसन्धान आवश्यक रहेकाले उक्त व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको हो। यस सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैलाई सत्यतथ्य विवरणसहित मात्र नागरिकता लिन आग्रह गर्दै यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन चेतावनी दिएको छ।