६ दलका ११० समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

दियोपोस्ट संवाददाता  

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज एक विशेष समारोहका बीच प्रमाणपत्र वितरण गरेको छ।

आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न ६ राजनीतिक दलबाट निर्वाचित सांसदहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरिएको हो।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा (एमाले)का १६, नेकपाका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४ जना सांसद निर्वाचित भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका पदाधिकारीहरूले नव-निर्वाचित सांसदहरूलाई जनताको विश्वास कायम राख्दै जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

यसअघि आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूको सूची सार्वजनिक गरिसकेको थियो। प्रमाणपत्र वितरणसँगै यसपटकको प्रतिनिधिसभा निर्वाचन प्रक्रिया लगभग पूर्ण भएको आयोगले जनाएको छ।

आयोगले आजै निर्वाचनको अन्तिम परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको छ। उक्त प्रतिवेदन बुझाइएपछि नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

नेपालको संविधानअनुसार प्रतिनिधिसभामा २७५ सदस्य रहने व्यवस्था छ, जसमा १६५ जना प्रत्यक्ष निर्वाचनबाट र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने प्रावधान छ।