राजेश हमाललाई देखाएर ढकारी गाउँपालिकाद्वारा १५ लाख भ्रष्ट्राचार, अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ । अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणको नाममा सरकारी रकम दुरुपयोग भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नायक राजेश हमाल अभिनित ‘अन्धपथ’ चलचित्र निर्माणका लागि बजेट विनियोजन नै नगरी रकम खर्च गरिएको आरोपमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे ट्वान्टी फोर न्यूजका अध्यक्ष रामबहादुर लम्सालबीच मिलेमतोमा सरकारी सम्पत्तिको हिनामिना भएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत प्रतिस्पर्धाविहीन रूपमा १५ लाख ५ हजार रुपैयाँको सम्झौता गरिएको र कानुनी सीमा नाघ्दै ५८ प्रतिशतसम्म पेस्की भुक्तानी गरिएको पाइएको छ।

यस्तै, आरजे ट्वान्टी फोर न्यूजसँग सम्झौता गरी उक्त रकम नव इन्द्रेणी फाउन्डेसनलाई पठाइएको तथा चलचित्र निर्माणको नाममा नक्कली बिल पेश गरी खर्च देखाइएको तथ्य पनि उजागर भएको आयोगले जनाएको छ।

आयोगले चारै जना प्रतिवादीबाट जनही १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो असुल गर्नुपर्ने माग गर्दै जरिवाना र कैद सजायको मागदाबी गरेको छ। साथै, निर्वाचित पदाधिकारी भएकाले अध्यक्ष साउदमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ अनुसार थप सजायको मागसमेत गरिएको छ।

सम्बन्धित खबर