काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज देशको विकट पहाडी क्षेत्र कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन्। हालै सम्पन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी तथा आम नागरिकप्रति धन्यवाद व्यक्त गर्ने उद्देश्यले उनले कर्णाली भ्रमण गरेकी हुन्।
प्रधानमन्त्री कार्की आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत मुगु पुगेकी थिइन्। त्यहाँ उनले सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्नुका साथै प्रसिद्ध रारा तालको अवलोकन गरेकी छन्।
भ्रमणका क्रममा उनले निर्वाचन व्यवस्थापन, सुरक्षा संयोजन र स्थानीय तहको सहकार्यका कारण निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै सबै पक्षको भूमिका प्रशंसनीय रहेको बताइन्।
मुगुमा रारा ताल अवलोकनपछि प्रधानमन्त्री कार्की जुम्ला पुगेकी छन्। त्यहाँ उनले स्थानीय प्रशासन र सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको यो भ्रमण केवल औपचारिक मात्र नभई कर्णालीजस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा राज्यको उपस्थिति, सुरक्षा अवस्था तथा विकास सम्भावनाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले समेत महत्वपूर्ण मानिएको छ। साथै रारा क्षेत्रको पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र संरक्षणमा सरकारको ध्यान केन्द्रित हुने सन्देशसमेत उनले दिएकी छन्।
यसअघि पनि प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न भएलगत्तै देशका विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै जनस्तरसँग प्रत्यक्ष संवाद गर्ने प्रयास गरिरहेकी छन्।
कर्णाली भ्रमणमार्फत प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियामा सहभागी सम्पूर्ण पक्षप्रति कृतज्ञता व्यक्त गर्नुका साथै दुर्गम क्षेत्रको विकास, सुरक्षा र पर्यटन सम्भावनाबारे सरकारको प्रतिबद्धता पुनः दोहोर्याएकी छन्।
