२७ औँ फ्लोरा एक्स्पो-२०८२ आजदेखि भृकुटीमण्डपमा सुरु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि २७ औँ फ्लोरा एक्स्पो-२०८२ सुरु भएको छ । पुष्प व्यवसायको प्रवर्द्धन तथा विकासलाई लक्ष्ति गर्दै एक्स्पो सुरु गरिएको हो ।

उक्त प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पुष्प व्यवसायलाई प्रविधिमैत्री, आधुनिक र प्रतिस्पर्धी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले स्मार्ट पुष्प व्यवसाय प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमै बजेट विनियोजन गरिएको जानकारी दिँदै आवश्यक कार्यविधि तयार भइसकेको र स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको उल्लेख गरे । केही प्रशासनिक ढिलाइ भए पनि कार्यक्रम चाँडै कार्यान्वयनमा आउने विश्वास उनले व्यक्त गरे ।

मन्त्री पौडेलका अनुसार पुष्प व्यवसाय प्रतिस्पर्धात्मक क्षेत्र भएकाले साना किसानदेखि ठूला व्यवसायीसम्म सबै तहमा यसको विस्तार आवश्यक छ । उनले अब नेपाली पुष्प व्यवसायले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्नुपर्ने भएकाले प्रविधि प्रयोग, उत्पादन वृद्धि र व्यवसायिक दक्षता विकासमा जोड दिनुपर्ने बताए ।

नेपालको विविध हावापानी र वनस्पति सम्पदाका कारण पुष्प व्यवसायको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले परम्परागत जातको संरक्षणसँगै नयाँ प्रविधि र उन्नत जात विकासमा ध्यान दिनुपर्ने धारणा राखे । साथै, कृषि तथा पुष्प क्षेत्रको समग्र विकासका लागि चैत अन्त्य वा वैशाख महिनामा सरोकारवाला निकायबीच बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए ।

कार्यक्रममा काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले पुष्प व्यवसायलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले विगत २७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको फ्लोरा एक्स्पोले पुष्प उद्योगको विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे ।

श्रेष्ठले निजी क्षेत्रको निरन्तर प्रयास र एकताले पुष्प व्यवसायलाई वर्तमान अवस्थामा पुर्‍याएको भन्दै आयोजक तथा व्यवसायीलाई धन्यवाद ज्ञापन गरे । साथै, नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यलाई सकारात्मक उपलब्धिका रूपमा व्याख्या गर्दै यसले क्षेत्रीय समन्वयलाई थप मजबुत बनाएको बताए ।

उनले अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गर्दै संयुक्त अरब इमिरेट्स ९यूएई० जस्ता मरुभूमि मुलुकमा समेत अत्याधुनिक प्रविधिको प्रयोगमार्फत पुष्प व्यवसायलाई उच्च स्तरमा विस्तार गरिएको उदाहरण दिए । त्यहाँको व्यवस्थापन र निर्यात प्रणालीले नेपालका लागि पनि नयाँ अवसर देखाएको उनको भनाइ थियो ।

नेपालमा फूल उत्पादन तथा निर्यातको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै श्रेष्ठले स्पष्ट नीति, लगानी र सरकारी सहकार्य भएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने बताए । उनले भन्सार तथा निर्यात प्रक्रियालाई सहज बनाउन सरकारसँग आग्रह गर्दै निजी क्षेत्रको सशक्त भूमिका आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रमका वक्ताहरूले पुष्प व्यवसायलाई रोजगारी सिर्जना गर्ने महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र र सरोकारवाला सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।

सिफारिस