काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते आयोजना हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा दिउँसो २ बजे शपथ कार्यक्रम सञ्चालन गरिने भएको हो ।
सचिवालयले सूचना जारी गरी नवनिर्वाचित सांसदहरूलाई कार्यक्रमबारे जानकारी गराउँदै तोकिएको समयभन्दा कम्तीमा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। उक्त कार्यक्रम नेपालको संविधानको धारा ८८ र ९१ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार सञ्चालन गरिनेछ।
शपथ कार्यक्रममा सहभागी हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएका पासपोर्ट साइजका दुई प्रति फोटो अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। साथै, सांसदहरूलाई औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन अनुरोध गरिएको छ।
यदि कुनै सदस्यले नेपाली बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहेमा, सम्बन्धित भाषामा अनुवाद गरिएको शपथको व्यहोरा कार्यक्रम हुनुभन्दा तीन दिनअघि नै सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैबीच सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि आ–आफ्ना जिल्लाबाट निर्वाचित सांसदहरूलाई उक्त सूचना उपलब्ध गराउन भनिएको छ। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा शपथ कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन सबै सदस्यहरूको सक्रिय सहयोग आवश्यक रहने उल्लेख गरिएको छ।
