काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई सचेत गराइरहँदा, उनकै पार्टीका सांसदका मुख्य खम्बा मानिने व्यक्ति भने विवादमा तानिएका छन्। गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सुदन गुरुङलाई जिताउन प्रमुख भूमिका खेलेका वाङचुक लामामाथि सामाजिक सञ्जालमार्फत युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ।
हाल वैदेशिक रोजगारी वा अध्ययनको सिलसिलामा विदेशमा रहेकी एक युवतीलाई लामाले अश्लील शब्दहरू प्रयोग गरी मानसिक तनाव दिएको अडियो दियोपोस्टलाई प्राप्त भएको छ। चुनावको समयमा सांसद सुदन गुरुङको पक्षमा लाग्न दबाब दिने क्रममा लामाले ती युवतीलाई सुन्नै नसकिने खालका तुच्छ र अश्लील सन्देशहरू पठाएको हामीलाई प्राप्त अडियोमा पाइएको छ।
आफूलाई किमोलुङ फाउन्डेसनको अध्यक्ष र एम्नेस्टी इन्टरनेसनलको सदस्य समेत बताउने लामा प्रायः बौद्ध मार्गीको भेषमा देखिन्छन्। तर, उनको बाहिरी आवरण र व्यवहारमा आकाश–जमिनको फरक देखिएको छ। प्राप्त अडियोमा लामाले महिलामाथि गर्ने दृष्टिकोण निकै तल्लो स्तरको रहेको प्रष्ट झल्किन्छ।
अडियो सुन्नुहोस्:
लामाले आफूले बोलेका कतिपय अश्लील शब्दहरू र सन्देशहरू पछि ‘डिलिट’ गरेर प्रमाण मेटाउने प्रयास गरे पनि पीडित युवतीले सुरक्षित राखेका ‘स्क्रिनसट’ हरूमा उनले लामालाई जथाभावी नबोल्न सचेत गराएको प्रष्ट देखिन्छ। यस दुर्व्यवहारबाट मानसिक रूपमा विक्षिप्त बनेकी युवतीले आफ्ना आफन्तहरूलाई अडियो पठाएर न्यायको याचना गरेकी छिन्। हाल उनले लामालाई सामाजिक सञ्जालमा ब्लक समेत गरिसकेकी छिन्।
राजनीति र समाज सेवाको आवरणमा महिलामाथि हुने यस्ता हिंसाजन्य व्यवहारले समाजलाई कता लैजाला? के रास्वपा र सांसद सुदन गुरुङले आफ्ना सहयोगीको यस्तो हर्कतमाथि छानबिन गर्लान् त? यो भने हेर्न बाँकी नै छ।