काठमाडौं । जेन-जी अभियन्ता रक्षा बममाथि जेन-जी युवाहरूले सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका छन् । माइतीघर मण्डलामा जारी प्रदर्शनका क्रममा रक्षा बम सहभागी हुन पुग्दा उनीबिरुद्ध नारावाजी गर्दै आक्रोश ब्यक्त गरेका हुन् ।
त्यहाँ उपस्थित जेन-जी युवा तथा घाइतेहरूले उनीमाथि नाराबाजी गर्दै प्रश्न उठाएका थिए । जेन-जी युवाहरुबीच चर्काचर्की भएपछि केही समय त्यहाँको अवस्था तनावपूर्ण बनेको थियो ।
प्रदर्शनमा सहभागी एक समूहले रक्षा बममाथि आन्दोलन ‘हाइज्याक’ गरेको, सरकारसँग गोप्य साँठगाँठ गरेको तथा आन्दोलनको श्रेय एकल रूपमा लिन खोजेको आरोप लगाएका थिए । उनीहरूका अनुसार आन्दोलन सामूहिक प्रयासबाट अघि बढेको भए पनि केही व्यक्तिले व्यक्तिगत लाभका लागि प्रयोग गर्न खोजेको गुनासो बढ्दै गएको छ ।
यही क्रममा जेनजी अभियन्ता सरिस्मा थापाले सामाजिक सञ्जालमार्फत रक्षा बमप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्। उनले आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै प्रश्न उठाउँदै नेतृत्वप्रति नैतिक जिम्मेवारी लिन आग्रह गरेकी हुन्।
सरिस्माले लेखेकी छन्-‘आफ्नो धरातल बिर्सिएर, काम नगरी, जिम्मेवारी नलिई के तिमी आफूलाई नेता भन्न सक्छौ?’ उनले नेतृत्वले व्यवहार सुधार नगरे इतिहास दोहोरिने चेतावनी समेत दिएकी छन्।
जेनजी समुहले आन्दोलनका क्रममा भदौ २३ र २४ मा भएका घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित आन्दोलन जारी राखेका छन् । तर, सो प्रतिवेदन अझै सार्वजनिक नभएको विषयले आन्दोलनभित्र असन्तुष्टि बढाएको देखिन्छ ।
यसैबीच, आन्दोलनभित्र नेतृत्व, एजेन्डा र समन्वयबारे स्पष्टता अभाव रहेको पनि देखिएको छ । कतिपय सहभागीहरूले आन्दोलन सुरु हुँदा कुनै औपचारिक नेतृत्व नभएको तर अहिले व्यक्तिकेन्द्रित प्रतिस्पर्धा बढेको टिप्पणी गरेका छन् ।
आन्दोलनको प्रारम्भिक एकता कमजोर बन्दै जाँदा अहिले आन्तरिक द्वन्द्व सतहमा आएको छ । यसले आन्दोलनको दिशा र प्रभावमा समेत प्रश्न उठ्न थालेको छ ।
उता, जेन-जी फ्रन्टले भने आन्दोलनकारीबीच हुने आपसी विवादले आन्दोलन कमजोर हुने भन्दै संयमता अपनाउन आग्रह गरेको छ ।
हाल, जेनजी आन्दोलन सरकारविरुद्धको दबाबसँगै आफ्नै आन्तरिक विवादका कारण नयाँ मोडमा पुगेको छ।