
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज दिउँसै अस्वाभाविक रूपमा अध्याँरो भई भारी वर्षा भएको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ। बिहानैदेखि मौसम बदली भई दिउँसोतिर आकाश कालो बादलले ढाकिँदा उपत्यकाभरि अन्धकार भएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दिनहरूमा देशभर बदलीसँगै वर्षा, हावाहुरी र मेघगर्जनको सम्भावना बढ्दै गएको छ। विशेषगरी आज र भोलिका लागि भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको चेतावनी जारी गरिएको छ।
भारी वर्षाका कारण काठमाडौँका सडकहरू भिजेका छन् भने कतिपय स्थानमा सवारी आवागमन प्रभावित भएको छ। कार्यालय समयमै अन्धकार छाएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या परेको छ। पैदल यात्रु, विद्यालय जाने विद्यार्थी तथा दैनिक मजदुरी गर्नेहरू बढी प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। अनावश्यक यात्रा नगर्न, कमजोर संरचनाबाट टाढा रहन तथा चट्याङ र हावाहुरीबाट बच्न सचेत रहन सुझाव दिइएको छ।
विशेषगरी नदी किनार, पहिरो सम्भावित क्षेत्र तथा खुला स्थानमा बस्नेहरूलाई थप सावधानी अपनाउन भनिएको छ।
मौसमविद्हरूका अनुसार अहिले सक्रिय मौसमी प्रणालीका कारण केही दिनसम्म देशका विभिन्न भागमा वर्षा जारी रहने सम्भावना रहेको छ। काठमाडौँ उपत्यकामा पनि यस्तै मौसम दोहोरिन सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ।













